विराटनगर, २९ जेठ– प्रधानमन्त्री केपी ओलीले चीनको सीमावर्ती किमाथान्कासम्म सडक निर्माण भएपछि विराटनगर क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने बताएका छन् ।
शनिबार रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिमा विराटनगर–५ स्थित खार्जीमा निर्माण हुनलागेको सञ्चारग्राम भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अब विराटनगरसँग चीन र भारतका ठूला बजारको सामिप्यता गाँसिने बताउँदै उनले यो क्षेत्रको भविष्य उज्ज्वल हुँदै गएको समेत बताए ।
ऐतिहासिक नगरी विराटनगरले राजनीतिक थलोको रुपमा साथै औद्योगिक र आधुनिक सञ्चारको रुपमा पहिचान कायम गरेको भएपनि समयानुकुल विकास नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अव विराटनगरलाई ग्रेट विराटनगर,स्मार्ट विराटनगर,ग्रिन विराटनगरका साथै सञ्चारग्राम,खेलग्राम र प्रदर्शनीको रुपमा पनि विकास गर्नुपर्नेमा जोड दिए ।
विराटनगर उपमहानगरपालिकाले प्रदान गरेको सात कठ्ठा जग्गामा सरकारमार्फत रेडियो नेपालको आठ करोडको लगानीमा अति आधुनिक सञ्चारग्राम अठार महिनामा निर्माण गरिने लक्ष्य राखिएको छ ।
वि।स। २००७ को क्रान्तिलाई सफल पार्नका लागि जनजागरण ल्याउन स्वर्गीय तारिणीप्रसाद कोइरालाले २००६ सालमा विराटनगरको रघुपति जुटमिलबाट वायरलेशको माध्यमबाट ‘प्रजातान्त्रिक रेडियो’को स्थापना गरेका थिए ।
सो रेडियोको माध्यमबाट उनले क्रान्तिकारी गीत,सन्देश र समाचारको माधयमबाट जनतालाई राणाशासनको विरुद्ध सङ्घर्ष गर्नका लागि उत्साहित गरेका थिए । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि रेडियो नेपालको उनी संस्थापक समेत भएका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले तारिणीप्रसाद कोइरालाप्रति श्रद्धासुमन अर्पन गर्दै मुलुकको सञ्चारविहीन अवस्थाबाट सञ्चार क्षेत्रमा पु¥याउनु भएका रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको स्मृतिलाई ताजा राख्न र उनको कामलाई सम्मान गर्नका लागि सरकारले विराटनगरमा उनको नाममा सञ्चारग्राम स्थापना गर्न लागेको बताए ।
कार्यक्रममा सञ्चारमन्त्री लगायत राजनीतिक दलका नेताहरुले समेत आ–आफ्नो मन्तव्इ राखेका थिए ।

