अस्वस्थ भई पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह अस्पताल भर्ना भएको खबर सुनेर स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक अस्पताल पुगेका प्रचण्डले अस्पतालमै पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका हुन् ।
प्रचण्ड आउँदा पूर्वराजा ज्ञानेन्द्र अस्पतालमै थिए । ज्ञानेन्द्रले नै आमा रत्नलाई गाडीमा राखेर आफैले ड्राइभ गरी अस्पताल पुगाएका थिए ।
विहीबार साँझ रत्नको स्वास्थ्य अवस्था बुझ्ने निहुँमा प्रचण्डले पूर्वराजा शाहलाई अस्पतालको गोप्य कोठामा भेटवार्ता तथा छलफल गरेको स्रोतले जनाएको छ ।
भेटमा प्रचण्डले रत्न स्वास्थ्य स्थितिबारे ज्ञानेन्द्रसँग छलफल गरेका थिए । साथै अन्य विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।
यता पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले भने प्रचण्डले अस्पताल आएको बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनका अनुसार पूर्व राजा ज्ञानेन्द्र अहिले पनि अस्पतालमै छन् ।
देशमा राजतन्त्र पुनर्स्थापनाको चर्चा चलिरहेका बेला प्रचण्ड र ज्ञानेन्द्रको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
