मुस्ताङका बृद्ध बृद्धाले सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता यातायातको असुविधाले गर्दा बर्षमा एक पटक एकमुस्ट लिने गरेको एक अध्ययनले देखाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्धन्द्ध, शान्ति र विकास संकायमा अध्ययनरत विद्यार्थीहरुको एक टोलीले गरेको अध्ययन तथा अनुसन्धानले सो जिल्लाका बृद्ध बृद्धाहरुले सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न जान कठीनाई भएको देखिएको छ । शिक्षक पिताम्वर भण्डारीको नेतृत्वमा गएका विद्यार्थीहरुले मुस्ताङ जिल्लाको मार्फा, ठिनी र जोमसोम तीन गाविसका ५० जना बृद्धबृद्धाहरुका बारेमा अनुसन्धान गरेका थियौँ । सो क्रममा उमेर ढल्कदै जाँदा समयमा भत्ता बुझ्न जान कठीनाई भएको उनीहरुले बताएका छन् ।
७६ बर्षीया गंगादेवि थकाली भन्छिन्, ‘सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज रुपमा पाउन सकेनाँै । सरकारको सेवा सुविधा पाएका छौं, तर यातायातको असुविधाले गर्दा सामाजिक सुरक्षा भत्ता लिन बर्षमा एक पटक मात्रै जाने गरेका छौं ।’
बृद्ध बृद्धा भएपनि अधिकांसले शिक्षा, स्वास्थ्य र घरेलु उद्योगमा लगानी गर्ने गरेका अध्ययन तथा अनुसन्धानबाट देखिएको छ । यातायातको असुविधाले हिड्न नसक्ने हुँदा मुस्ताङ्का बृद्ध बृद्धाले होम डेलिभरीको व्यवस्थाको माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्धन्द्ध, शान्त्ति र विकास संकायमा अध्ययनरत १७ जना विद्यार्थीहरुले बैशाख २२ देखि २९ गतेसम्म एक हप्ता लगाएर अध्ययन अनुसन्धान गरेका थिए ।
पैसा के–के मा खर्च गर्छन बृद्धबृद्धा
मुस्ताङ्का बृद्धबृद्धाहरु संगै रहेर विद्यार्थीको टोलीले गरेको अध्ययनले उनीहरुले आर्थिक रकमलाई बिभिन्न स्रोतमा खर्च गर्ने गरेको तथ्याङ्कमा देखाईएको छ । उनीहरुले खानामा सबैभन्दा बढि खर्च गर्ने गरेका छन् ।
त्यस्तै आफन्तलाई, आफ्नो भबिश्यका लागि जोहो र अर्को रमाईलो कुरा भनेको मदिरामा पनि राम्रै खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ । दान, चन्दाका रुपमा पनि बृद्धबृद्धाले खर्च गर्ने गरेका छन् । सबै भन्दा कम मनोरञ्जनको क्षेत्रेमा खर्च गर्ने गरेको अध्ययनबाट देखिन आएको छ ।
छोरा छोरी कहाँ–कहाँ छन्
उनीहरुका अधिकांस छोराछोरी काठमाण्डु, पोखरा, लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । अझ धेरै नेपाल बाहिर बसेर व्यापार व्यवसाय गर्दै आएको उनीहरु बताउँछन् ।
मुस्ताङ्मा बसोबास गरेका बृद्धबृद्धाहरुको आर्थीक स्रोत के होला सबैलाई खुल्दुली लाग्न सक्छ । तर उनीहरुको आर्थीक जोहो गर्ने आधार प्रसस्तै रहेको तथ्याङ्कले देखाएको छ ।
उनीहरुलाई परिवारले सहयोग गर्ने, घरेलु उत्पादनबाट रकम जुटाउने, बैंकमा जम्मा गरेको पैसाको व्याज, कृषि बापत, र सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता मुस्ताङ्का उनीहरुको सबैभन्दा मुख्य आम्दानीको स्रोत रहेको छ ।




